किभ– रुसले युक्रेनमाथिको सैन्य कारवाहीलाई निरन्तरता दिंदै आएको छ । युक्रेनको अहिलेसम्मकै सुरक्षित मानिदै आएकोे पश्चिमी शहर लभिभ पछिल्लोपटक रुसी आक्रमणको निशाना बनेको छ । रुसी गोलाबारीका कारण पहिलोपटक लभिभमा सोमबार सर्वसाधारणको मृत्यु भएको समाचारमा जनाइएको छ ।

रुसले लभिभमा सोमबार बिहानैदेखि गरेको गोलाबारीका कारण कम्तिमा सातजना सर्वसाधारण नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको लभिभ शहरका मेयरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रुसी आक्रमणका कारण लभिभमा मृत्यु हुनको सङ्ख्या बढ्न सक्ने समाचारमा जनाइएको छ ।

गत फेब्रुवरी २४ तारिकदेखि युक्रेनमाथि रुसी आक्रमणबाट जोगिंदै आएको लभिभलाई सुरक्षितस्थान मानिएका कारण सर्वसाधारण नागरिकहरु जोगिनका लागि किएभसहितका शहरबाट त्यहाँ आश्रय लिंदै आएका थिए । यस्तै लभिभबाट पोल्याण्डसहितका देशहरुमा शरण लिन जाने युक्रेनी नागरिकहरु धेरै छन् ।

लभिभलाई हालसम्म तुलनात्मक रुपमा सुरक्षित स्थान ठानिँदै आएको थियो । तर सोमबारको आक्रमणले अब युक्रेनमा कुनै पनि ‘सुरक्षति वा असुरक्षित’ स्थान भन्ने नरहेको सोमबारको आक्रमणले पुष्टि गरेको लभिभका मेयर एन्ड्री साडोभ्यीले बताएका छन् । उनले भनेका छन्, ‘युक्रेनमा सबैतिर असुरक्षा छ ।’

रुसले पछिल्लो समय आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको समाचारमा जनाइएको छ । यतिखेर रुसको मनसाय डोनबासमा रहेको औद्योगिक क्षेत्र आफ्नो कब्जामा लिने रहेको छ ।

किभ र उत्तरी क्षेत्रमा युक्रेनी सैनिकसँग रुस पछि परेपछि अहिले आक्रमण पूर्वी क्षेत्रमा केन्द्रित गरेको हो । तर सोमबार पश्चिमको लभिभ क्षेत्रमा रुसले आक्रमण गरेको हो । पश्चिमी क्षेत्रमा रुसले गरेको आक्रमणलाई लिएर लभिभका बासिन्दा त्रसित भएका छन् । रुसले लभिभलाई यहिले आक्रमणको निशाना बनाएको छ ।