काठमाडौं – नेपाली आकाशमा वीणा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अनुकुल मौसम र वातावरण भएमा वैशाख ९ गते शुक्रबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने सोसाइटीले जनाएको हो ।

आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर अर्थात वर्षको पहिलो पटक देखिने उल्का वर्षा) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टराईका अनुसार वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न र देख्न सकिने छ । ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

पुच्छ्रेतारा वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।