फाइल तस्वीर
कास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो उम्मेदवार मतदानबाट छान्न लागेको हो ।


पार्टीमा लगातार छलफल गर्दा पनि सहमति जुट्न नसकेपछि एमालेले पोखराको मेयर र उपमेयर उम्मेदवार छान्न आज निर्वाचन गर्ने भएको छ । मेयर र उपमेयर उम्मेदवारमध्ये निर्वाचनमार्फत सबैभन्दा धेरै मत ल्याउने एक जना महिलासहित तीन÷तीन जनाको नाम सिफारिस गर्ने एमाले कास्की जिल्ला कमिटीले बताएको छ ।

एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुँदैछ । एमाले एउटै पार्टीबाट पोखरा महानगरपालिकाको मेयर पदमा १२ जना र उपमेयरमा ११ जना आकाङ्क्षी बन्दा आन्तरिक मतदान गरेर समस्या समाधान गर्न लागेको बताइएको छ ।

मेयर पदका लागि केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, केन्द्रीय सदस्य मीना गुरुङ, प्रा.डा. विश्वकल्याण पराजुली, भीम कार्की, व्यवसायी पुष्पज्योति ढुङ्गाना, रश्मी आचार्य, पुष्पराज अधिकारी, दर्शन लामा, दीपक पौडेल, सावित्री भण्डारी र बालकृष्ण काउछा मगरले उम्मेदवार दाबी गरेका छन् ।

यस्तै उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, हरिमाया गुरुङ, बलराम गायक गन्धर्व, बैनबहादुर क्षेत्री, टिकाराम पंगेनी, बामदेव ढुङ्गाना, जीवनप्रसाद आचार्य, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी, र सुष्मा पौडेल आकाङ्क्षी छन् ।

आगामी निर्वाचनको लागि पार्टीको तर्फबाट मेयर र उपमेयरको उम्मेदवार छान्नको लागि आज हुने भनिएको निर्वाचनमा एमाले पोखरा महानगर कमिटीका पदाधिकारी र सदस्य गरी ११० जनाले मात्र मतदान गर्नेछन् । प्रत्येक उम्मेदवारले उम्मेदवारी दिँदा प्रतिव्यक्ति तीन हजारका दरले शुल्क बुझाउनु पर्नेछ । कास्कीमा एमाले भित्र ठूलो विवाद छ । निर्वाचन पश्चान् एमालेमा ठूलो भूकम्प जाने विश्लेषण गर्न थालिएको छ ।