फाइल तस्वीर
जनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ ।


वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी छर्की मिथिलामा जुडशीतल मनाइन्छ । यस पर्वमा घरका श्रेष्ठ व्यक्ति तथा आमाबुवाले बिहानै बासी पानी आफ्ना छोरा, बुहारी, नाती–नतिनीलाई दिने गर्छन् । यसले गर्दा वर्षभरी सुखी रहने मिथिलामा मान्यता रहेको छ । यस पर्वमा रुखविरुवामा पनि बासी पानी राख्ने चलन छ ।

शुक्रबार जनकपुरधामको गंगासागर पोखरीमा माटो लगाएर जुडशीतल पर्व मनाइएको हो । पहिले–पहिले यस पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । तर यो परम्परा लोप हुँदै गइरहेको अवस्थामा केही ठाउँमा भने मनाइने गरिन्छ ।

मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष एवं प्रध्यापक डा. भोगेन्द्र झाले जुडशीतलले प्रकृतिको संरक्षण र सामाजिक सदभाव मुख्य सन्देश रहेको बताए । जुडशीतल पर्वले जललाई बँचाउने, जलको महत्व र माटोको महत्वलाई देखाएको त्यस्तै आफुभन्दा ठूलालाई सम्मान गर्ने, आशिष लिने सन्देश दिने गरेको मधेस प्रदेशका प्रदेश सांसद रामअशिष यादवले बताए ।

उनले जुडशितलमा पहिले पहिले ईनार, कुवा, पोखरीहरु गाउँहरुमा युवाहरुले सफाई गर्ने अभियान नै सञ्चालन गर्दै आएकोमा अहिले आएर नयाँ पुस्तालाई जुडशीतलको बारेमा जानकारी समेत नरहेको बताए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरु यस्ता पर्वको संरक्षणमा महत्वपूर्ण योग्दान खेलिरहेको उनले बताए । उनले जुडशीतल पर्वलाई बँचाउनका लागि कुनै तहको सरकारले चासो नदेखाएको आरोप समेत लगाए । रासस