साङ्केतिक तस्वीर ।
काठमाडौं – काठमाडौंमा बसले ठक्करदिंदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको बेसिगाउँमा भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।


जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

हिजो दिउँसो भएको उक्त दुर्घटनामा स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । दुर्घटनापछि उपचारार्थ जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएका दाहालको हिजै अपरान्ह ४ बजेतिर मृत्यु भएको बौद्ध प्रहरीले बताएको छ ।

बसको ठक्करबाट घाइते भएकामध्ये स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जनाको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमै उपचार भइरहेको छ । उक्त स्कटरमा तीन जना सवार थिए । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।