विस्का जात्राको फाइल तस्वीर
भक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।

यो जात्रामा बोडेका स्थानीय वासिन्दा ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यस पटक पनि जिब्रो छेडाउने भएका छन् । यस अघि आठ पटकसम्म जिब्रो छेडिसकेको बुद्धकृष्णले यस पटकपनि जिब्रो छेड्ने भएका छन् । यो सहित उनले नौ पटक जिब्रो छेड्ने छन् । यस्ता व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने चलन छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खाइदैन ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गर्दछन् । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेड्ने व्यक्तिको जिब्रो छेडिदिन्छन् । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरोले जिब्रो छेडिन्छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुग्छन् । त्यसपछिमात्रै जिब्रोको सुइरो झिकिन्छ र उक्त जात्राको समापन गरिन्छ ।

यसैगरी विस्का जात्राको छैठौं दिन शुक्रबार नै भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइँंदै छ । यो जात्रामा ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको छ ।

खटमा देवताको मुर्ति राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने गरिन्छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहिआएको छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहिआएको छ ।
मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान शुरु गरेको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्वसम्पदा सूचीमा समावेश हुनेगरी अभियान शुरु गरिएको जानकारी दिए।