रुसी मस्क्भ लडाकु पानी जहाज, तस्वीर: एएफपी
रुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ । बिस्फोट कारण क्षतिग्रस्त भएको उक्त पानी जहाज समुद्रमा डुबेको हो ।
बुधबार मस्क्भ नाम गरेको उक्त पानी जहाज युक्रेन युद्धका लागि सैन्य सामग्री तथा सुरक्षाकर्मीसहित ब्ल्याक सीमा रहेका बेला बिस्फोट हुन पुगेको समाचारमा जनाइएको छ । रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको जनाएको छ । समुद्रमा आएको छालले गर्दा पानी जहाज डुबेको रुसी रक्षा मन्त्रालयले दावी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

करिब ५ सय १० सदस्य रहन सक्ने मिसाइल क्रुजर पानी जहाजमा भएको यो क्षतिलाई युक्रेन युद्धमा रुसले व्यहोरेको ठूलो सैन्य क्षतिको रुपमा हेरिएको छ । युक्रेनमा रुसी सैन्य आक्रमणमा मस्क्भ पानी जहाजलाई रुसी सैन्य शक्तिको प्रतीकका रुपमा रहेको थियो ।

युक्रेनले आफ्ना सैनिकले प्रहार गरेको मिसाइलका कारण मस्क्भ क्षतिग्रस्त भएको दावी गरेको थियो । तर रुसले भने हालसम्म पानी जहाजमा भएको आक्रमणको बारेमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । बिस्फोटका कारण पानी जहाजमा क्षति भएको र समन्द्री छालले डुबेको रुसी दाबी छ । जहाजमा रहेको बिस्फोटक पदार्थका कारण आगलागी भएको रुसले भनेको छ ।

तर युक्रेनी अधिकारीले ब्ल्याक सी मा रहेको रुसी लडाकु पानी जहाज आफ्ना सैनिकले प्रहार गरेको रकेटको निशाना बनेको बताएका छन् यसअघि रुसी रक्षा मन्त्रालयले लडाकु पानी जहाजमा फसेका आफ्ना सुरक्षाकर्मीको उद्धार गरिएको जनाएको थियो । सन् १९८० को दशकमा निर्माण भएको सो क्रुजर पानी जहाज युक्रेनको दक्षिणी शहर मिकोलाइभ नजिकै रहेका बेला मिसाइलको निशाना बनेको युक्रेनले दावी गरेको छ । रुसले सबैको उद्धार गरिएको भने पनि हताहतीबारे भने केही उल्लेख गरेको छैन ।