काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो ।

अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु–याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साता लाग्नेछ ।