सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फूलजोर चोकनजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका हुन् । त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन् । उनीहरू स्थानीय स्वास्थ्य चौकीमा उपचार भई घर फर्किएका र एक जनालाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरूले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटना भएको यात्रु बसका चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन् ।