फाइल तस्वीर
वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार भर्चुअलमाध्यमबाट संवाद हुने भएको छ । गत महिना पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्रालयले दुई शीर्ष नेताबीचको भेटले द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने जनाएको छ । यो बैठकले दुई देशबीच निरन्तर उच्चस्तरीय सहभागिताको बाटो खोल्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच दक्षिण एसियाको पछिल्लो घटनाक्रम र साझा चासोका विश्वव्यापी घटनाक्रमका बारेमा छलफल हुनेछ जनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनले निम्त्याएको सङ्कट, विश्वव्यापी अर्थतन्त्र र लोकतन्त्रको सुरक्षाको विषयमा पनि दुई नेताबीच छलफल हुन सक्ने बताइएको छ ।

यता ह्वाइट हाउसले जनाए अनुसार राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा रुस–युक्रेन युद्धको मुद्दा पनि उठाउने भएका छन् । ह्वाइट हाउसले रुसको युद्धको बारेमा मोदीसँग छलफल हुने छ । रुस र युक्रेनबीचको युद्धले सिर्जित समस्या, विश्व खाद्य आपूर्तिमा पार्ने प्रभावका विषयमा पनि छलफल बताइएको छ ।

रुस र युक्रेनबीचको युद्धलाई लिइर भारतले लिएको अडानप्रति अमेरिकाले पहिले नै असन्तुष्टि जनाइसकेको छ । भारतले रुससँगको सम्बन्धलाई सीमित गरोस् भन्ने अमेरिकी चाहना छ । भारतप्रति अमेरिकाको अर्को असन्तुष्टि भनेको रुससँगको तेलको व्यापार पनि हो । भारतले रुससँग तेल खरिद गर्ने कामलाई जारी राखेको छ । भारतले यो सम्बन्धलाई निरन्तरता दिएमा उसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी अमेरिकाले दिएको छ । यसैबीच अमेरिकाले भारतलाई हतियार दिने प्रस्ताव पनि गरेको छ । भारतले रुसबाट हतियार किन्दै आएको प्रति अमेरिकाको असन्तुष्टि छ । अमेरिकाले भारतलाई रुससँग हतियार खरिदलाई घटाउनुपर्ने सर्त पनि राखेको छ ।

अमेरिका भारतलाई आफ्नो पक्षमा पारेर दक्षिण एसियामा आफ्नो प्रभुत्व विस्तार गर्न चाहिरहेको छ । भारत रुसी हतियारमा निर्भर रहेकोले पनि रुस र युक्रेनबीचको युद्धको विषयलाई उठाएर अमेरिकाले भारतलाई रुससँगको सम्बन्धमा तगारो लगाउने प्रयास गरिरहेको छ ।