फाइल तस्वीर
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले ‘यो नेपालका लागि अनिष्टको समय हो’ भन्नु भएको छ । ‘अहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो बन्दै छ । केही समयपछि तलब नपाए अनौठो नमान्नुहोला । सरकारले तलब दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकलाई भत्ता दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन्’ नेता ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु देशको आर्थिक अवस्था जर्जर हुँदा पनि खुसी भएर बसेको आरोप लगाउनु भएको छ । एमालेलाई अब धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै एमाले ‘ढुङ्गाको काप फोडेर’ पनि सरकारमा आउने दावी गर्नुभयो । उहाँले अब नेकपा एमालेलाई बाहिर कति दिन राख्न सकिन्छ ? भन्दै एमालेका लागि गठबन्धन केही होइन । एमाले चुनावपछि सरकारमा पुग्ने जिकिर समेत गर्नुभयो ।