फाइल तस्वीर
रौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले आज आइतबार गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३ सय शैयाको अस्पतालको उद्धघाटन गर्दै तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृङ्खलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् चुरे क्षेत्रमा हाल संरक्षणका विभिन्न कार्यक्रम भइरहेका छन् ।

तराई मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जनमा बृद्धि हुनुको साथै उद्यमशीलता प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने बताउनु भयो ।

प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तराई मधेशमा व्याप्त बोक्सी तथा दाइजोजस्ता कुप्रथाहरु हटाउन स्थानीयस्तरबाटै जनचेतना अभिवृद्धि हुनुपर्ने बताउनु भयो ।

अस्पताल उद्धघाटन कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं १ का सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।