ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यस्तो आरोप लगाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफूले सत्ता छाडेको नौ महिनाको अवधिमै देशको अर्थव्यवस्था सङ्कट उन्मुख भएको दाबी समेत गरेको छ । एमाले उपाध्यक्ष पौडेल अर्थमन्त्री हुँदा सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । अहिले सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि वित्तीय क्षेत्रमा यो घटनाले तरङ्ग ल्याएको छ ।

उपाध्यक्ष पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै अर्थमन्त्रीले मन्त्रालय अधिनको अङ्गजस्तो ठानेको आरोप लगाएका छन् । एमाले नेता पौडेलले ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अङ्गको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो । राष्ट्र बैंकको स्वायत्ततामाथि नै हस्तक्षेप गरियो’ भनेका छन् ।

एमालेका तीन पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल सुरेन्द्रप्रसाद पाण्डे र युवराज खतिवडाका साथै योजना आयोगका पूर्वउपाध्यक्ष पुष्प कँडेलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर अर्थतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनीहरुको भनाइ रहेको छ ।

पक्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले ‘सरकारको गलत अर्थनीतिका कारण नौ महिनामै देशको अर्थव्यवस्था अवस्था नाजुक र जोखिम पूर्ण अवस्थामा पुगेको छ । यदी सार्थक हस्तक्षेप र समस्या समाधानका लागि पहल नगरेमा नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्दछ’ भनेर दावी गरेका छन् ।

एमालेका वक्ता नेताहरुले आइतबार देशको अर्थव्यवस्था र गभर्गनरलाई निलम्बन गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै सरकारको गतल नीतिका कारण देश श्रीलङ्काको बाटोमा उन्मुख भएको बताएका छन् । अहिलेको सरकारले लिएको बाटोबाट स्वभाविक रुपमा श्रीलङ्काको जस्तै अवस्थामा पु¥याउने भएकाले सच्चिन आवश्यक भएको उनीहरुले भनेका छन् ।