काठमाडौं — भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको विरोधमा उत्रिएको नेपाली काङ्ग्रेस चितवनले मेयर र उपमेयरको उम्मेदवार बन्न चाहनेहरुको लागि दर्खास्त आह्वान गरेको छ । मेयर र उपमेयर बन्न इच्छुकका लागि काङ्ग्रेस महानगर समितिले दर्खास्त आह्वान गरेको हो ।


भरतपुर महानगरपालिकाको मेयर पदका लागि आकाङ्क्षीहरु धेरै देखिएका छन् । जसमध्ये जिल्ला पार्टी सभापतिदेखि काङ्ग्रेस केन्द्रीय सदस्यहरु दिनेश कोइराला र टेकप्रसाद गुरुङले समेत इच्छा देखाएका छन् । यस्तै जिल्लाका नेताहरू नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री निलकण्ठ रिजालदेखि अन्य नेताहरुसमेत भरतपुर महानगरपालिकाको मेयर पदका आकाङ्क्षी देखिएका छन् ।

महानगर समितिले पार्टीकातर्फबाट महानगरपालिकाको मेयर र उपमेयर पदका लागि दर्खास्तका दिन मेयर पदका लागि तीन हजार रुपैयाँ र उपमेयरका लागि दुई हजार रुपैयाँ आवेदन शुल्कसमेत तोकेको छ । समितिले आज र भोलि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । भोलि साँझसम्म कति जनाले मेयर र उउमेयर पदका लागि उम्मेदवारीको निवेदन दिने छन् भन्ने तथ्याङ्क आउने छ ।

यसपटक नेपाली काङ्ग्रेस चितवन जिल्ला कार्यसमितिले यस पटक माओवादी केन्द्रले आफ्नो पार्टीलाई मेयर पद छाड्नुु पर्ने भन्दै आएको छ । यदी माओवादी केन्द्रले नै पुनः दावी गरिरहे चितवन काङ्ग्रेसले गठबन्धन नगरी महानगरको मेयरमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । उक्त कुराको जानकारी पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको छ । यदी केन्द्रले माओवादीलाई नै पुनः मेयर पदमा समर्थन गरेको खण्डमा जिल्ला कार्यसमितिले त्यसलाई अस्वीकार गर्ने र पार्टीले सहयोग नगरे स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिइसकेको छ ।

यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले भरतपुर महानगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई समर्थन गर्दै मेयरमा जिताएको थियो ।