बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वार्ता तस्वीर


किभ– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको भ्रमणमा निस्किएका छन् । रुसी आक्रमणको चपेटामा परेको युक्रेनको भ्रमणमा निस्किएका प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । जोन्सन र जेलेन्स्कीबीच युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो ।

बेलायती प्रधानमन्त्री जोन्सन युद्धग्रस्त युक्रेन र त्यहाँका नागरिकप्रति आफ्नो ऐक्यबद्धा रहेको प्रतिबद्धता देखाउनका लागि किभ पुगेका छन् । बेलायतले युक्रेनलाई १२० सैन्य सवारी तथा एन्टी–मिसाइल प्रणाली दिने भएको जेलेन्स्की–जोन्सन वार्तापछि जानकारी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले गरिरहेको आक्रमणको क्रममा बेलायतले युक्रेनलाई दिएको साथ र समर्थनप्रति बेलायतलाई धन्यवाद दिएको जेलेन्स्कीको सचिवालयले जनाएको छ । बेलायती प्रधानमन्त्री जोन्सन कुनै जानकारी विना एक्कासी युक्रेनको राजधानी किभ पुगेको समाचारमा जनाइएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की र बेलायती प्रधानमन्त्री जोन्सनबीच वार्ता भएको र सँग हिंडेको तस्वीरहरु सावैजनिक भएपछि बेलायती प्रधानमन्त्री युक्रेन पुगेको सार्वजनिक भएको हो ।

बैठकपछि जारी भएको वक्तव्यमा प्रधानमन्त्री जोन्सनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नेतृत्व र युक्रेनी नागरिकको असाधारण बहादुरीको प्रशंसा गरेका छन् । बेलायत युक्रेनका साथमा रहेको आफूले जेलेन्स्कीलाई बताएको जोन्सनको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । वार्तापछि जेलेन्स्की र जोन्सन युक्रेनको राजधानी किभको सडकमा सँगै हिँडिरहेको फोटाहरु सार्वजनिक भएका छन् । बेलायतस्थित युक्रेनी दूतावासले आफ्नो ट्वीटरमार्फत् किभमा दुई शीर्ष नेतृत्वबीच भेटवार्ता भएको फोटाहरु सार्वजनिक गरेको हो ।

रुसले गत फेब्रुअरी २४ तारिखदेखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । अहिले रुसले आफ्नो आक्रमणको प्रमुख निशाना पूर्वी युक्रेनलाई बनाएको छ । युक्रेनमाथिको रुसी आक्रमणलाई अमेरिका, युरोपेली देशका साथै जापानलगायतका देशहरुले विरोध गर्दै आएका छन् ।