काठमाडौं – पटक–पटकको प्रतिबद्धतापश्चात् पनि तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन् ।

सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन् । यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेपछि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

सरकारवारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ । स्थानीयतारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारीले बिहीबार नेपाल समाचारसँग कुरा गर्दै अटेरी ठेकेदारका कारण बाध्य भएर फोहोर रोक्नुपरेको बताए ।

ठेकेदारले सरकारकै संरक्षण पाएको कारण हालसम्म काम नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापन अवरुद्ध गर्न बाटोमा बसेका स्थानीयले भने, ’जबसम्म बाटो कालोपत्रे हुँदैन, तबसम्म फोहोर लैजान दिदैनौं ।’ (नेपाल समाचारपत्र दैनिकबाट)