काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयरबजार बढेको छ । सेयर बजार मापक परिसूचक नेप्से ३५ दशमलव ६६ अङ्कले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ बिन्दुमा पुगेर बन्द भएको छ । साताको पहिलो दिनदेखि नै घटेको बजार यसदिन भने हरियाली देखिएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अङ्कले वृृद्धि भएर ४ सय ६३ दशमलव ७३ बिन्दुुमा उक्लिएको छ । यसदिन कारोबारमा आएका २ सय २४ वटा कम्पनीका ४२ हजार पटक शेयर कारोबार हुँदा ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् । अघिल्लो कारोबारका दिनको तुलनामा बिहीबार कारोबार रकम पनि बढेको छ । यसदिन कुल कारोबार २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको भएको छ । नेप्सेका १३ वटै उपसमूह हरियाली देखिएका छन् । बजार बढ्दा सर्वाधिक अन्य उपसमूह ३ प्रतिशतभन्दा बढिले बढेको छ भने व्यापार समूहको वृद्धि २ दशमलव ६२ प्रतिशत छ ।

कारोबारमा आएका २ सय २४ वटा कम्पनीमध्ये १ सय ७४ वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् भने १७ वटा कम्पनीका लगानिकर्ताले गुमाएका छन् । कारोबारका चार दिन क्रमशः घटेको शेयरबजारमा बिहीबार हरियाली छाउँदा हिमालयन पावर र नेस्डो समृद्धि लघुवित्तको शेयर मूूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४ सय ६२ रुपैयाँ र १ सय ५४ रुपैयाँले बढेर १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसदिन सर्वाधिक गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल रहेका छन् । कम्पनीको शेयर मूल्य क्रमशः ७ प्रतिशत र ६ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ५ सय ३२ रुपैयाँ र १ हजार १ सय १२ रुपैयाँ हुन पुग्यो । साथै नविल बैंकको सर्वाधिक ७ करोड ३८ लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा कम्पनीको शेयर मूूल्य प्रतिकित्ता ९ सय ६९ रुपैयाँ कायम भएको छ ।