फाइल तस्वीर
काठमाडौं – एएफसी एसिया कप छनोटको तयारीका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण नयाँ वर्ष २०७९ को आगमनसँगै सुरुहुने भएको छ । बैशाख २ गते शुक्रबारदेखि नेपाली फुटबल टोलीको बन्द्र प्रशिक्षण हुन लागेको हो ।

एएफसी एसिया कप छनोटको लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई आवद्ध गराउनेगरी छनोट गरिएको थियो । यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसिया कप छनोटका लागि विशाल राईलाई समेत टिममा बोलाएका छन् । अब बन्द प्रशिक्षणमा २५ जना खेलाडी रहने भएका छन् ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसहित कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप – २०२३ मा छनोट हुनेछन् । एएफसी एसिया कपका छनोट खेलहरु आगामी जुन ८ देखि १४ सम्म कुवेतमा हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

बन्द प्रशिक्षणमा रहेका नेपाली टिमका खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान तथा गोल रक्षक किरणकुमार लिम्बु, अनन्त तामाङ, अन्जन विष्ट, विशाल श्रेष्ठ, विमल घर्तीमगर, दर्शन गुरुङ, दीप कार्की, एरिक विष्ट, आयुष घलान, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, विशाल राई रहेका छन् ।