काठमाडौं – एसियाली विकास बैंकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने दावी गरेको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले आगामी आर्थिक वर्षबाट मात्र नेपालको आर्थिक विकासमा सुधार हुँदै जाने जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव एक प्रतिशतले ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षमा दुई दशमलव तीन प्रतिशतले आर्थिक वृद्धिदर हासिल भएकामा आगामी आर्थिक वर्ष पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । एडीबीले नेपालको मुद्रास्फीति चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशतको सीमाभित्रै रहने बताएको छ । बैंकका अनुसार सन् २०२० मा छ दशमलव दुई प्रतिशतमा रहेको मुद्रास्फीति गत आर्थिक वर्ष तीन दशमलव छ प्रतिशतमा आएको थियो । आगामी वर्ष मुद्रास्फीति दर छ दशमलव दुई प्रतिशतको वाञ्छित सीमाभित्रै रहने बताइएको छ ।

एडीबीले सार्वजनिक गरेको प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा चालु खाता घाटा नौ दशमलव सात प्रतिशत पुगेको उल्लेख छ । यस्तो घाटा कोभिड महामारी सुरु हुँदा शून्य दशमलव नौ प्रतिशत रहेकामा गत वर्ष आठ प्रतिशत पुगेको थियो । आगामी वर्ष यस्तो घाटा छ दशमलव एक प्रतिशतमा सीमित रहने एडीबीको भनाई छ ।