फाइल तस्वीर
काठमाडौं – शहिद स्मारक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी च्यालेन्ज फुटबल अन्तर्गत आज मङ्गलबार श्रीलङ्काली टिम क्लब ब्लु स्टारसँग दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दैछ । अपरान्ह ५ः०० बजे सुरु हुने यस खेलमा मच्छिन्द्रले स्पष्ट जितको लक्ष्य लिएर मैदानमा उत्रने भएको छ ।
मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल आफ्नो टिममा अनुभवी र सबै लिग खेलेका खेलाडी रहेकोले आफुहरु जितको लागि योग्य भएको बताउनुहुन्छ । प्रशिक्षक कटुवाल भन्नुहुन्छ ‘टोलीमा अनुभवी र सबै लिगमा खेलेका सेटका खेलाडी छन् । हाम्रो लक्ष्य छनोटको समूह चरण पुग्नु हो । हामीलाई केही दवाव त हुन्छ । तर पनि हामी जितका लागि सक्षम छौं ।’

मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले पनि टोलीको एउटै लक्ष्य समूह चरण पार गर्ने रहेको बताउनुभयो । ‘हामी शतप्रतिशत मिहेनत गरेर खेल्नेछौँ । घरेलु समर्थक र फुटबल प्रेमीलाई खुशी दिँदै अर्को चरणमा पुग्न चाहन्र्छौं,’ श्रेष्ठले भन्नुभयो । मच्छिन्द्रले मङ्लबार ब्लु स्टारलाई हराएर अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ तारिख खेल्नेछ । लगातार दोस्रो पटक लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । यस अघिल्लो संस्करण पनि च्याम्पियन बनेको मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नभएका कारण छनोट खेल गुमाएको थियो ।
श्रीलङ्काली टिम ब्लु स्टारका प्रशिक्षक राजमान्य डेभासगयामले मछिन्द्रविरुद्ध संयमित भएर खेल्ने र जित निकाल्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘ मछिन्द्र बलियो टोली हो । यद्यपि, हामीले राम्रो तयारी गरेर आएका छौं । आशा छ, हामी दोस्रो चरणमा पुग्नेछौं ।’