जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो ।

सन् २०१६ देखि २०२१ को अवधिमा १२ वर्षदेखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना स्कुले छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।

बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेपछि अदालतले सोमबार उनलाई मृत्युदण्डको सजाय सुनाएको न्यूयोर्क पोष्टले उल्लेख गरेको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।

इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृत्युदण्डको सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो । विश्वको ठूलो मुस्लिम बहुल देश इण्डोनेसियामा हजारौंको सङ्ख्यामा इस्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन् । एक शिक्षकको यो कुकृत्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सुरक्षामा कतिपयले प्रश्न उठाएका छन् ।