तस्वीर: एएफपी
किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रुसद्वारा युक्रेनमाथि भएको युद्धलाई रोक्न केही समयदेखि युक्रेन र रुसका वार्ताटोलीबीच प्रत्यक्ष र भच्र्युअलमाध्यमबाट संवाद चलिरहेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएता पनि वार्ता भने नरोकिने बताएका छन् ।

रुसी सैनिकहरु युक्रेनको राजधानी किभ नजिकैको बुचा क्षेत्रबाट फिर्ता भएपछि राष्ट्रपति जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन् । रुसी आक्रमणका कारण सर्वसाधारण मासिरका र उनीहरुको शव बुचाका सडकमा देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । रुसमाथि नरसंहार र युद्ध अपराधको आरोप लागेको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार तथा युद्ध अपराध गरेको पछिल्लो भयावह प्रमाण बुचाको अवस्था रहेको दावी गरेका छन् । विनाप्रमाण रुसले भने बुचाका तस्बिर तथा भिडियोलाई ‘फेक’ भन्दै अपराध अस्वीकार गरेको छ । रुसले युक्रेनमाथि गत फेब्रअरी २४ देखि निरन्त आक्रमण गर्दै आएको छ । यसबाट युक्रेनको अवस्था भयावह बनेको छ ।

किभ नजिकका क्षेत्रमा करिब ४१० जना सर्वसाधारणको शव भेटिएपछि युद्ध अपराधलाई लिएर अनुसन्धान सुरु गरेको युक्रेनले उल्लेख गरेको छ । केही शव सामूहिक चिहानमा भेटिएका छन् भने केही हात बाँधेर नजिकबाट गोली हानिएको अवस्थामा भेटिएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बुचा पुगेका राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकले स्थानीय बासिन्दामाथि ‘पशुलाई भन्दा पनि खराब’ व्यवहार गरेको भन्दै ‘यो वास्तविक नरसंहार हो, तपाईँहरुले यहाँ जे देख्नु भयो’ भनेका छन् । राष्ट्रपति जेलेन्स्की सैनिकका साथमा त्यहाँ पुगेका थिए ।

पत्रकारले वार्ता सम्भव रहे नरहेकोबारे गरेको प्रश्नमा जेलेन्स्कीले भने, ‘वार्ता हुन्छ, किनकी युक्रेनलाई शान्ति चाहिएको छ । हामी २१ औँ शताब्दीमा छौं । कूटनीतिक र सैन्य रुपमा हामीले प्रयास जारी राख्ने छौं ।’