काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ०४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ६८ अङ्कले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम बृद्धि भएको छ । आइतबार १ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको शेयर मूल्य ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य ९ दशमलव १२ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।