फाइल तस्वीर
काठमाडौं — नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज सोमबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिविविको क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे फाइनल खेल हुनेछ ।
यसअघि भएका सिरिजको चार खेलमा सहज जित निकालेको नेपालले आज हुने फाइनलमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिंदैछ । आफुभन्दा केही कमजोर मानिएको पपुवा न्युगिनी माथि उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्ने रणनीतिमा मैदानमा उत्रिने नेपाली टिमका कप्तान सन्दीप लामिछानेले बताएका छन् ।

नेपालले सन्दीपको कप्तानीमा पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा बताए । ‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्त्वपूर्ण छ । म कप्तानभन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौँ,’ सन्दीपले भने ।

सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताएका छन् । उपाधि जित्नका लागि सबै खेलाडीले आ–आफ्नोतर्फबाट शतप्रतिशत योगदान गर्ने उनको भनाइ छ । उनले भने ‘आजको खेल सबैको लागि महत्वपूर्ण छ । हामीलाई केही दबाब छैन् । हामी सबै खेलाडी आफ्नो तर्फबाट दिनै सबै मेहनत दिनेछौं । हामीले सिरिज जित्नका लागि सकेसम्म राम्रो टोली मैदानमा प्रस्तुत गर्नेछौं ।’

यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए । ‘कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौँ । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्त्वपूर्ण छ,’ भालाले भने ।

पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोर्यको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न त्यति सहज देखिंदैन । यद्यपि, खेल हो । जित हार त अन्तिम समयमा मैदानमा हुनेछ ।