कोलम्बो–श्रीलङ्कामा चरम आर्थिक भएपछि त्यहाँका सबै मन्त्रीहरुले एकसाथ राजीनामा दिएका छन् । पछिल्लो समय श्रीलङ्काले आर्थिक समस्या झेल्दै आएको छ ।

आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सरकारका सबै २६ जना मन्त्रीले राजीनामा दिएका छन् । तर प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाई राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् ।

राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा नामल राजपाक्षपनि रहेका छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशमा स्थायित्व कायम गर्नका लागि सहयोग गर्ने अपेक्षा रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र बुझाएको जानकारी पत्रकारलाई दिएका हुन् ।

सन् १९४८ यताकै गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ । केही समय पहिले काजगको अभावका कारण लाखांै विद्यार्थीहरुको परीक्षा नै स्थगित गर्नु परेको थियो । आर्थिक सङ्कट सुल्झ्याउन सरकारले काम नगरेको भन्दै जनताहरु आक्रोसित हुँदै आन्दोलनमा उत्रिएका छन् । राजधानी कोलम्बोमा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदर्शन रोक्नका लागि श्रीलङ्कामा राष्ट्रिय आपत्कालीन अवस्थासँगै शुक्रबार राष्ट्रपतिले ३६ घण्टे कर्फ्यू जारी गरेका थिए । कर्फ्यूका बाबजुद पनि नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन चर्किँदै गएपछि मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

श्रीलङ्का केही समय तामिल विद्रोहीहरुको चपेटामा परेपछि त्यहाँको आर्थिक अवस्था खस्किंदै आएको थियो । तामिल विद्रोहीको समस्या समाधान भए तापनि श्रीलङ्काले आर्थिक गतिविधिलाई चलायमान बनाउन नसक्दा क्रमशः त्यहाँ आर्थिक सङ्कट बढ्दै गएको र अहिले श्रीलङ्का चरम आर्थिक सङ्कटको समस्या झेलिरहेको छ ।