काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ५ हजार ८ सय ४७ जनामा पीसीआर विधिबाट र १ हजार ६२ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कुल २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी सोही अवधिमा ६६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ८ सय ९९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।