धनुषा – सत्ता गठबन्धनमा आवद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी स्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज बस्न लागेको हो ।

चुनावी तालमेलका विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली काङ्ग्रेसको प्रदेश कार्यालयमा आज बैठक बस्न लागेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिनुभयो । बैठकमा सत्ता गठबन्धनमा आवद्ध जसपासहित नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा केही शीर्षनेताहरुको सहभागी हुने अध्यक्ष यादवले बताउनुभयो ।

बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिने लगायतका विषयमा छलफल हुने जनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ । सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ । मधेस प्रदेशमा एक महानगरपालिकासहित १ सय ३६ स्थानीय तह रहेका छन् ।