ढल्केवर – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट आज (शनिबार) दिउँसो १२:१५ रेल सेवाको उद्घाटन गर्नुहुनेछ ।


हैदराबादमा दुवै देशका प्रधानमन्त्रीले नेपाली र भारतीय झण्डा हल्लाएर रेलको उद्घाटन गर्नुहुनेछ । उद्घाटनका लागि जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ । दुवै रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम गरिनेछ ।


उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिने छन् । दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने छ । रेल प्रत्येक स्टेशनमा रोकिने छ ।
रेल उद्घाटन कार्यक्रममा भाग लिन आउनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा र सञ्चारकर्मीसहितको टोली जयनगर पुग्नुभएको छ ।


जयनगरबाट हिँड्ने रेलमा सवार अथिति जनकपुर स्टेशनमा ओर्लिनुहुनेछ । त्यहाँ आयोजना गरिएको औपचारिक समारोहलाई भौतिकमन्त्री यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतलगायत अथितिहरुले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुहली झै सिङ्गारिएको छ । (गोरखापत्र दैनिकबाट)