फाइल तस्वीर
काठमाडौं — नेपालले आज शनिबार घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । मध्यान्न साढे १२ बजेको समयमा कीर्तिपुरस्थित त्रिविवि खेलमैदानमा नेपाल र मलेसियाबीचको खेल हुन लागेको हो ।
लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको नेपालले मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपालभन्दा कमजोर मानिएको मलेसियालाई हिजो पपुवा न्युगिनीले हराएको थियो ।

यसैगरी नेपाल यसअघिका खेलहरुमा पपुवा न्यूगिनी (पीएनजी) लाई पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई पहिलो खेलमा ६ विकेटले हराएको थियो । नेपाल र मलेसियाबीच आज दोस्रो खेल हुन लागेको हो ।

यता मलेसियालाई फाइनलमा पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि हिजो शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अङ्क तालिकामा पुछारमा रहेकोछ । आजको खेलमा मलेसिया नेपालसँग पराजित भएमा पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ । पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ ।

मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टी–२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।