फाइल तस्वीर
काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भन्दै देशभर ठप्प पारेका छन् । व्यवसायीहरुले नेपाल आयल निगमले आफ्नो मागप्रति व्यवस्था गरेको भन्दै आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न इन्धन ढुवानीलाई ठप्प पारेका हुन् ।


नेपाल आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जनाएको छ ।
सङ्घका महासचिव विश्व अर्यालले ‘निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड÷अनलोड रोकेका छौं । हाम्रो माग सम्बोधन गर्न निगम तयार भएन’ भन्नुभयो ।

आन्दोलनका कारण ढुवानीमा सम्लग्न १ हजार ४ सय ट्याङ्कर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपूर्ति प्रभावित हुनेभएको छ । व्यवसायीहरुको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ ।

निगमको बाराको अमलेखगञ्जस्थित डिपोबाट व्यवपेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोड÷अनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण १० बजेपछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप कुमार यादवले बताए ।

निगमका अनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोकाअनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् । यो इन्धनले काठमाडौं उपत्यकामा करिब डेढ दिनको माग मात्रै धान्ने बताइन्छ ।