फाइनल
काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै फाइनलको यात्रा निश्चित गरेको हो ।

पीएनजीविरुद्ध पहिले व्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २०३ रन बनाएको थियो । ३३ बलको सामना गरेका ऐरीले ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहम्मद आदिल आलमले ३१ र कुशल भुर्तेलले १७ रन बनाए बनाउँदै नेपाललाई सहज जित दिलाउन योगदा गरे ।

२०४ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १६६ रनमै समेटिन पुग्यो । पीएनजीलाई अलआउट गर्न करन केसीले ह्याट्रिकसहित ५ विकेट लिन सफल भए । पहिलो ओभरको चौंथो बलमा लेगा सियका र तेस्रो ओभरको दोस्रो बलमा आसाद भालालाई आउट गरेका करनले २० औं ओभरमा ह्याट्रिक पूरा गरेका थिए ।

उनले २० औं ओभरको दोस्रो बलमा पीएनजीका चाड सोपर, तेस्रो बलमा सिमोन आताइ र चौथो बलमा नोसाइना पोकानालाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए। यस्तै सोमपाल कामी र अविनाश बोहोराले दुई–दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।