फाइल तस्वीर

काठमाडौं – सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन आफूहरुले वैकल्पिक बाटो खोजिरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घटनामा जानबाट सम्हाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्नुहुन्छ, “अर्थतन्त्र गम्भीर स्थितिमा छ । तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र, उद्योगी–व्यवसायीहरूको बारेमा हामीले गठबन्धनभित्र पनि गम्भीर चर्चा ग¥यौँ । यो विषयमा वृहत्त छलफल आयोजना गरेर साझा निष्कर्ष निकाली अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्नुपर्छ भन्नेमा हाम्रो सहमति पनि भएको छ, छिट्टै व्यापक विचार–विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर हाम्रो प्रयास जारी छ । ”

उहाँले सञ्चारमाध्यममा आएजस्तो श्रीलङ्काको अवस्थामा नेपाल नपुगेको बताउनुभयो ।अध्यक्ष प्रचण्डले भन्नुभयो, “मेरो अध्ययनमा अहिले त्यहाँसम्मको स्थितिमा नेपाल होइन । श्रीलङ्काले जे समस्या भोगेको छ, विद्यालयले कागज किन्न नसकेर परीक्षा नै गर्न नसकेको अवस्था सिर्जना भएको छ , नेपाल त्यो ठाउँमा होइन ।”

हाल नेपालमा विविध कारणले गर्दा समस्या उत्पन्न भएको र यसलाई सम्हाल्न सक्ने अवस्थामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।