काठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बिमस्टेक सम्मेलनलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुभएको थियो । सम्मेलनले पारित गरेको बडापत्रमा प्रधानमन्त्री देउवाले नेपालको तर्फबाट बडापत्रमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुईवटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीले हस्ताक्षर गर्नुभएको सम्झौतामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमस्टेक महासन्धि र श्रीलङ्काको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आवद्धता रहेका छन् । यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गर्नुभएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्यराष्ट्रमा नेपाल, श्रीलङ्का, भारत, भुटान, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड छन् । बिमस्टेको चौंथो शिखर सम्मेलन सन् २०१८ मा नेपालमा भएको थियो ।