काठमाडौं– कोरोना भाइरसको ओमिक्रोन भरियन्टको बीए–२ सब भेरियन्ट यतिबेला विश्वमा प्रभावी बनेको विश्व स्वास्थ्य सङ्गठनले (डब्लूएचओ) जनाएको छ । यस भेरियन्टबाट ८६ प्रतिशत सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाइ छ ।

जनवरीको सुरुवातमा पत्ता लागेको कोरोना भाइरसको यो भेरियन्ट बीए–१ र बीए–१–१ भन्दा पनि बढी सङ्क्रामक रहेको डब्लूएचओको भनाइ छ । यसलाई पीसीआर लगायत अपनाउँदै आएको विधिबाट पत्ता लगाउन कठिन भएकाले यसलाई ‘स्टेल्थ भेरियन्ट’ पनि भनिएको छ । ओमिक्रोनको अर्को भेरियन्ट बीए–३ पनि विश्वभर विस्तारै फैलिन सुरु भएको छ ।

बीए–२ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा सङ्क्रामक भएपनि यसले मानिसलाई गम्भीर बिरामी बनाउने सम्भावना भने कम रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । ओमिक्रोनका अन्य भेरियन्टजस्तै हाल उपलब्ध खोपहरू बीए–२ भेरियन्टविरुद्ध कम प्रभावकारी देखिएको छ । तर बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले गरेको अध्ययनले बुस्टोर डोज लगाएकाहरू ओमिक्रोनबाट गम्भीर बिरामी हुनबाट जोगिन सक्ने बताइएको छ ।

सबैभन्दा चासोको विषय भनेको बीए–१ बाट सङ्क्रमित भएका व्यक्तिहरू बीए–२ बाट सङ्क्रमित हुन सक्छन् कि सक्दैनन् भन्ने हो । केही देशहरूमा छोटो समयमा नै सङ्क्रमणको दुईवटा पिक (उच्च विन्दु) देखिएको छ । तर बेलायत र डेनमार्कको तथ्याङ्कले भने अल्फा र डेल्टाबाट सङ्क्रमित भएकालाई ओमिक्रोनले पुनः सङ्क्रमित गरे पनि ओमिक्रोनको बीए–१ बाट सङ्क्रमित भएकाहरूलाई बीए–२ भेरियन्टले पुनः सङ्क्रमित गराउने सम्भावना कम रहेको देखाएको छ । – एजेन्सी, अलजजिरा