फाइल तस्वीर
काठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रीङ्खला अन्तगर्त आज घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुने आयोजकले बताएका छन् ।


सोमबारदेखि सुरुभएको त्रिकोणात्मक टी–२० को पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भएको थियो । उक्त खेलमा नेपालले १५ रनले मात्रै पीएनजीलाई पाखा लगाएको थियो ।
हिजो मङ्गगलबार मलेसिया र पीएनजी भिडेका थिए । उक्त खेलमा पनि पीएनजीलाई पाखा लगाउँदै मलेसियाले विजयी सुरुवात गरेको थियो । आज नेपाल र मलेसिया दुवै टिमको लागि यो दोस्रो खेल हो । यी दुवै टिम लगातार दोस्रो जित रच्ने रणनीतिमा मैदानमा उत्रदैछन् ।

ब्याटिङ्मा कमजोर देखिएको नेपालले आज आफ्नो कमजोरीलाई सुधार गर्न सके मलेसियामाथि जित दर्ता गर्ने स्वर्ण अवसर मिल्नेछ । बलिङ र ब्याटिङमा नेपालले आजको खेलमा सुधार गर्नुपर्ने खाँचो छ । सन्दीप लामिछानेको कप्तानिमा मैदानमा उत्रिएको नेपालले आज जित्नुपर्ने वाध्यता छ । नेपाल र मलेसियाबीच समान दुई अङ्क छ । जुन टिमले आज बाजि मार्नसक्छ त्रिकोणात्मक टी–२० को विजेता बन्ने ढोका खुल्नेछ ।

नेपाल र मलेसियाबीच अहिलेसम्म भएका खेलको इतिहास हेर्ने हो भने नेपाल मलेसियामाथि हाबी भएको छ । आज नेपालले यस कुरालाई पनि आफ्नै गृहमैदानमा पुनः प्रमाणित गर्नुपर्ने चुनौती छ । अहिलेसम्म नेपाल र मलेसियाबीच ६ पटक भेट भएको छ । जसमा नेपालले पाँच जित र एक हार मात्र ब्यहोरेको छ । यता मलेसिया पनि नेपाललाई उसैको मैदानमा हराउन चाहन्छ ।