कोलम्बो — परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलङ्काको कोलम्बोमा जारीे आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुथान गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनु भएको छ । परराष्ट्रमन्त्री खड्काले श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचांै बिमस्टेक शिखर सम्मेलनमा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

मन्त्री खड्काले ‘बिमस्टेकलाई पुनरुत्थान गर्न हाम्रो नवीकरण सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरू आवश्यक पर्दछ,’ भन्दै बिमस्टेकको १८ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकमा मङ्गलबार सम्बोधन गर्नेक्रममा ‘हामीले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्छ र वर्तमान चुनौतिहरू अनुरूप नवीन मार्गहरू निर्माण गर्नुपर्छ’ भन्नुभयो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री खड्काले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग पनि शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटका दौरानमा विद्यमान सहयोगलाई थप मजबुत बनाउने र नेपाल–श्रीलङ्का सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोहीक्रममा परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका मन्त्री खड्का र भारतीय समकक्षी जयशङ्करबीच साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘हामीबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा पनि जोड दिने विषयमा समेत छलफल भएको छ,’ विदेशमन्त्री जयशंकरले ट्विट गर्दै भनेका छन् । यस्तैगरी परराष्ट्र मन्त्री खड्काले थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री डन प्रमुडविनै र बङ्गलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेनसँग पनि साइडलाइनमा भेटवार्ता गर्नुभएको छ ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलनको अन्तिम दिन बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार मङ्गलबार बिमस्टेकले बडापत्र पनि सार्वजनिक गर्दैछ । बिमस्टेकको सम्मेलन दुई दिनसम्म हुनेछ ।