फाइल तस्वीर
किभ– रुसी आक्रमणको चपेटामा परेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्ताप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् । युक्रेन र रुसबीच आगामी हप्ता जारी सङ्कट समाधान गर्ने विषयमा टर्कीमा वार्ता हुँदैछ ।

टर्कीमा हुने वार्ताप्रति युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुने बताएका छन् । ‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो सम्भव भएसम्म चाँडो’, राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ।

यसअघि एक रुसी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले युद्ध अन्त्यका लागि युक्रेन तटस्थ राष्ट्रका रुपमा रहनेबारे छलफल गर्न सकिने पनि बताएका थिए । युक्रेन कसैको पक्षमा हुन नहुने माग रुसले गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मागहरु मध्ये पश्चिमा सैन्य गठबन्धन नेटोमा सामेल हुने तयारी त्याग्नु पर्ने रहँदै आएको छ ।

यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसमा सत्ता परिवर्तनको चाहना अमेरिकाको नरहेको बताएका छन् । विदेशमन्त्री ब्लिङ्कनले ‘रुसमा सत्ता परिवर्तनको हाम्रो कुनै योजना र चाहना छैन’ भनेका छन् । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘‘भगवानका खातिर यो मानिस (पुटिन) सत्तामा रहनु हुँदैन’ भन्दै पोल्याण्डको वार्समा सम्बोधन गर्दा यस्तो अभिव्यक्ति दिएका थिए ।