फाइल तस्वीर
पर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले बताउनु भएको छ ।
हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।
बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हात्ती सहित उनिहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको एसपी बस्नेतले बताए ।