तस्वीरः रोयटर्स

किभ — रुसले पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा मिसाइल आक्रमण गरेको खबर छ । युक्रेनमाथि रुसले आक्रमण बढाउँदै जाँदा त्यहाँको जनजीवन नै कस्टकर र भयावह बन्दै गएको छ । रुसले लभिभमा आज बिहानै मिसाइल आक्रमण गरेको समाचारमा जनाइएको छ ।

युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको पश्चिमी शहर लभिभमा रुसले तीनवटा मिसाइल आक्रमण गरेको समाचारमा उल्लेख छ । एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको बताइएको छ ।

यसैबीच लभिभमा भएको आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि रुसी सन्देश रहेको लभिभका मेयर एन्ड्री साडोभीले बताएका छन् । ‘मलाई लाग्छ आजको आक्रमण आक्रमणकारी (रुस) ले राष्ट्रपति बाइडेनलाई पठाएको सन्देश हुन सक्छ, जो अहिले पोल्याण्डमा छन् । लभिभ शहर पोल्याण्डबाट ७० किलोमिटरको दूरीमा पर्छ’ मेयर एन्ड्रीले भनेका छन् । उनले यो पनि भनेका छन् कि ‘मलाई लाग्छ पूरा विश्वले थाहा पाइसक्यो होला कि जोखिम कति गम्भीर छ ।’

आक्रमणमा परी केही मानिस मानिस घाइत भएता पनि कोही हताहत नभएको समाचारमा जनाइएको छ । घाइतेहरुलाइ उपचारार्थ अस्पताल लगिएको मेयर एन्ड्रीलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।