फाइल तस्वीर
तनहुँ – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लामा २३ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित १७ दलले निर्वाचनका लागि विवरण बुझाएको तनहुँ जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताउनु भएको छ ।

राजनीतिक दलबाहेक स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले पनि स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् । त्यस्ता उम्मेदवारलाई चुनाव चिन्ह दिइने छ । राष्ट्रिय मान्यताप्राप्त बाहेक १७ वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने निर्वाचन कार्यालयका प्रमुख ढकालले बताउनु भयो ।

निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको मतदाता अन्तिम नामावली चैत्र १३ गते आइतबार प्रकाशित हुनेछ । निर्वाचन कार्यालय प्रमुख ढकालका अनुसार आगामी स्थानीय तहको निर्वाचनका लागि एक हजार छ सय जनशक्ति आवश्यक पर्नेछ ।