काठमाडौं – एकदिवसीय सिरिज अन्तगर्त काठमाडौंको कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय परिसरमा भएको खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग पराजित हुन पुगेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको २९२ रनलाई उछिन्न नसक्दा गृह मैदानमा हारको सामना गर्नुपर्यो । नेपालले ५० ओभरमा ८ विकेट क्षतिमा २८६ रन मै समेटिन पुग्यो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा ओर्लिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि रोहित पौडेलले पहिलो एकदिवसीय शतक बनाएका छन् भने उनले ५ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाएका छन् । रोहितले कुल ११९ रन बनाएका थिए ।

आफ्नो टिमलाई जिताउन पीएनजीका चार्ल्स अमिनीले ७७ रन, असाद भालाले ६० रन, नोर्मन भौनाले ४७ र टोनी उराले ३८ रनको साझेदारी योगदान गरे । त्यस्तै नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने र पवन सर्राफले एकएक विकेट लिन सफल भए ।

यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेलेका हुन् । यूएईमा भएको लिग २ अन्तर्गतका दुबै खेलमा नेपालले पीएनजीलाई हराएको थियो ।

एकदिवसीय सिरिजमा नेपाली राष्ट्रिय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिइएको छ । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, मोहम्मद आरिफ शेख, भीम सार्की र अनिलकुमार शाह रहेका छन् । खेलको लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने छनोटमा परेनन् ।