काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति बढ्दो जनलहर र दिनहुँ पार्टी प्रवेश गर्नेहरु देखेर बैरीहरु तिलमिलाउन थालेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीको सङ्गठन विस्तार र एमाले परित्याग गरी साथीहरु आउनेक्रम तिब्ररुपमा बढ्न थालेको देखेर एमालेको नेतृत्व जथाभावि बोल्दै हिड्न थालेको आरोप लगाउनु भएको छ । आफ्नो पार्टीका पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ एमालेमा प्रवेश गर्न बालकोटा पुगेको भ्रम फैलाउन बरबराएका छन् भन्दै एमाले अध्यक्ष ओली दक्षिणपन्थीहरुसँग साँठगाँठ गर्न निर्मल निवास धाउन थालेका छन् भन्नुभयो ।

ओली आसन्न स्थानीय निर्वाचनमा आफू कमजोर हुनेदेखेर पाँचदलीय सत्ता गठबन्धनलाई भत्काउन कोशिस गरिरहेको भन्दै उनी दक्षिणपन्थी, अवसारवादीहरुसँग गठबन्धन गर्न दैलो चाहार्दै हिड्न थालेको जिकिर गर्नुभयो । अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले ‘हाम्रो पाँचदलीय सत्तागठबन्धनलाई तोड्न केपी ओली ज्यान फालेर लागेका छन्, तर उनी पनि दक्षिणपन्थीहरुसँग गठबन्धन गर्दैछन् । राप्रपासँग साँठगाँठ गर्दै सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । विदेशीसँग दलाली गर्ने पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन्’ भन्नुभयो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले क्रान्तिकारी विचार बोकेर अगाडि बढेको भन्दै देश र जनताको हितका लागि समर्पित भएर अघि बढेको बताउनु भयो । आज वडादेखि प्रदेशसम्म देशव्यापी रुपमा अखिन नेपाल महिला सङ्घ (समाजवादी) गठन भएको भन्दै महिला हक अधिकार स्थापना लागि आफुले ठूलो मिहिनेत गरेको धारणा राख्दै महिलाहरुलाई अधिकारसम्पन्न गरी स्थापित गराउन नेकपा एकीकृत समाजवादी पार्टीले विशेष जोड दिने विश्वास दिलाउनु भयो ।

सोही क्रममा बोल्दै अध्यक्ष नेपालले आसन्न निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने र गठबन्धन बाहिरका विचार मिल्ने राजनीतिक दलहरूबाट पनि तालमेल गरेर अगाडि बढ्ने प्रस्ताव आएको दावी समेत गर्र्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं जिल्ला अध्यक्ष सुशीला खतिवडाले ‘सङ्गठन विस्तार गर्न, विद्यमान संविधान कार्यान्वयन र सामाजिक न्यायका निम्ति लड्न, अन्तरविरोध हल गरेर अगाडि बढ्न र भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा सरिक हुन यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको’ बताउनु भयो ।

This image has an empty alt attribute; its file name is NCP-women-Photo-1-1024x576.jpg


कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाल, बागमती प्रदेशमा खानेपानी मन्त्री तथा पार्टीका पोलिटब्यूरो सदस्य बसन्त मानन्धर, नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला अध्यक्ष कुसुमकुमार कार्की लगायत पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।