काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ८१ जनाको र एन्टिजेन विधिबाट १ हजार ३ सय ८७ जना गरी कुल ५ हजार २ सय ६८ जनाको कोरोना परीक्षण गर्दा जम्मा ३५ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज बिहीबार २ सय ६६ जना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार २ सय १९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।