फाइल तस्वीर
धनुषा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र ‘वीन–वीन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनु भएको छ । अध्यक्ष नेपालले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता प्रशिक्षणमा लाग्नु भएका अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा ‘गठबन्धनमा रहेका दलबीच ‘वीन–वीन’ को सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ’ जानकारी गराउनु भयो ।

अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा आफूहरु इमान्दार रहेको भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताए। गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उनले जानकारी दिए।

अध्यक्ष नेपालले ‘गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन । ‘हरेक पार्टी आ–आफ्नो शक्ति र सामर्थ्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ’ भन्नुभयो । अध्यक्ष नेपालले आवश्यकता प¥यो भन्ने ‘वीन वीन’का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार रहेको बताउनु भयो ।

निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन’ भन्दै नेता नेपालले ‘एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ, न त अन्य कुनै प्रकारको सहकार्य नै ।’

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने जानकारी समेत गराउनु भयो । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै अध्यक्ष नेपालले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको समेत दावी गर्नुभयो ।