फाइल तस्वीर
तनहुँ – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने बताउनु भएको छ । तनहुँको जिल्ला सदरमुकाम दमौलीमा जिल्ला पार्टी कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टी सभापति देउवाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले ‘ लोकतन्त्र बचाउनका लागि पनि अहिलेको पाँच दलीय गठबन्धन आवश्यकता रहेको’ भन्दै ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ’ भन्नुभयो ।

नेपाली काङ्ग्रेस तनहुँ जिल्ला पार्टी कार्यालय आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ । प्रधानमन्त्रीले काङ्ग्रेसका लागि तनहुँ उर्वरभूमि रहेको उल्लेख गर्दै तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै र विशेष महत्व रहेको धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्दै आगामी सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्ने जिकिर गर्नु भएको थियो ।