फाइल तस्वीर
हेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य हुनेछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेशसभाको चालु नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरू सञ्चालन भएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेको प्रदेशसभा बैठक पटक पटक अवरोध भैरहेको पृष्ठभूमिमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमा गर्नु पर्ने भन्दै हिउँदे अधिवेशन अन्त्य गरेको हो । एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको थियो । उहाँले प्रदेशसभामा बहुमत प्राप्त गर्न नसक्ने भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको थियो । उहाँको राजीनामा पछि नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुभएको हो ।

गत पुस ८ गतेबाट एमालेले अवरुद्ध गर्दै आएको प्रदेशसभाको बैठक पछिल्लो समय फागुन २९, ३० र चैत ८ गते तीन दिनमात्र बसेको थियो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन तयारी अनुसार हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै नै आह्वान गर्ने तयारी गरेको छ ।