फाइल तस्वीर
काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिंदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको हो । यसअघि ५ प्रतिशतसम्म रहेको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ ।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि, २०७७ को चौथो संशोधन जारी गर्दै लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र साधारण पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म पु¥याएको उल्लेख गरेको छ । राष्ट्र बैंकले यस्तो कर्जा ४ प्रतिशतमै वाणिज्य बैंकहरुलाई उपलब्ध गराउनेछ ।

विशेष पुनर्कर्जाको ब्याजदर भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत मात्रै लिन पाउनेछन् । यस्तो विशेष कर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमै दिनेछ । राष्ट्र बैंकका अनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षसम्मको लागि मात्रै हुनेछ । जुन कर्जा नवीकरण हुने छैन ।

प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँसम्मको हुनेछ । एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ ।

बैंकले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न सकिने छ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।