तस्वीर, क्यान
काठमाडौं – नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई पाखा लगाएको छ । उक्त खेलमा नेपालले ७ विकेटले जित निकालेको हो ।

दुवई क्रिकेट रङ्गशालामा पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको हो । नेपाली टिमका लागि आरिफ शेख र कुशल भुर्तेलले अर्धशतक बनाए थिए । १ सय २ बल खेलेका आरिफले ४ चौकाको मद्दतमा ५९ रन बनाउँदा कुशलले ६४ बलमा ५० रन जोडे । यस्तै रोहित पौडेलले पाँच चौकाको मद्दतमा ४४ रनको योगदान दिलाए । पीएनजीका लागि भने कार्लस अमिनीले दुई तथा कबुवा मोरियाले एक विकेट लिएका थिए ।

टस हारेर पहिले व्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । पीएनजीका लागि कप्तान आसाद भालाले सर्वाधिक ४५ रन बनाएका थिए भने चाद सोपरले २२ रन जोडे । यसैगरी लिगा सियाकाले २०, सेसे बाउले १९ रन जोड्दा नोरमान भानुले १८ र कबुवा मोरियाले १७ रनको साझेदारी गरे ।

बलिङतर्फ नेपाली टिमका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए भने करन केसी, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र पवन सर्राफले समान एक÷एक विकेट लिएका थिए ।