फाइल तस्वीर
हेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक अवरुद्ध हुँदै आएकोमा फागुन २९ गतेको बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका विषयमा जवाफ दिएपछि सदन चलेको थियो । गत पुस ८ गतेदेखि एमालेले अवरोध गर्दै आएको सदन फागुन २९ मा खुलेको थियो ।

एमालेले उठाएका विषयहरुमा मुख्यमन्त्री पाण्डेले जवाफ दिएपछि फागुनको अन्तिम साता २ दिन प्रदेशसभा बैठक बसेको थियो । प्रमुख प्रतिपक्ष दल एमाले र अन्य दलहरूसँग सहकार्य गरेर जाने प्रतिवद्धता मुख्यमन्त्री पाण्डेले दिनु भएपछि सदन सञ्चालन भएको थियो । दुई दिन चलेको प्रदेशसभा बैठकले २ वटा ऐन संशोधनका विधेयक, एक नयाँ विधेयक पेस भएको थियो भने २ वटा विधेयक पारित गरेकोे थियो ।

प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेस गर्नुभएको थियो । संशोधनका लागि पेस गरिएका विधेयकहरू सम्बन्धित समितिहरूमा पठाइएको छ ।

उक्त बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको थियो । त्यस्तै मन्त्री खनालले सदनमा पेस गरेको प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो भने त्यसमा माथि सांसदहरूले आफ्नो धारण राखेका थिए ।

आज मङ्गलबार बस्ने प्रदेशसभाको बैठकमा ३ वटा विधेयक माथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा यस अघि सदनमा पेस भएको विभिन्न २ वटा विधेयक माथि छलफल भएर समितिमा पठाइने कार्यसूची रहेको छ । आजको बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने र त्यसको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ ।

यसैबीच आज बस्ने प्रदेशसभाको बैठक पछि बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो । समय रहेसम्म आजै मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभाको अधिवेशन अन्त्य गरिने र सरकारले बजेट निर्माणको काम तीव्र रूपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै आह्वान गरिने बताइएको छ ।