फाइल तस्वीर ।
काठमाडौं – आज विश्व पानी दिवस । हरेक वर्ष मार्च २२ तारिखका दिन विश्व पानी दिवस मनाइन्छ । नेपालमा पनि आज मङ्गलबार विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदैछ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको पर्यावरण र विकाससम्बन्धी महासभाबाट विश्व पानी दिवसको घोषणा यो दिनलाई सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।

पानी आवश्यकीय निर्वैकल्पिक पदार्थ हो । पानी सबै जीव र वनस्पतिका लागि आवश्यक हुन्छ । मानवीय जीवनको दैनिकी प्रारम्भ नै पानीबाट हुनेगर्दछ । पानीलाई पञ्चतत्व मध्ये एक तत्वका रुपमा लिइन्छ । पानी विनाको जीवन परिकल्पना भन्दा धेरै टाढाको कुरा हो । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ ।

दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ । यो नाराका साथ मङ्गलबार बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।

आज नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ ।